काठमाडौँ, । मानवता, सहयोग र सेवाभावको सम्मानार्थ प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाउँदै छ।
स्वयंसेवकको योगदानलाई औपचारिक मान्यता दिने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९८५ देखि यो दिवस मनाउन थालिएको हो।
नेपालमा पनि सरकारी तथा गैर–सरकारी संस्था, युवा समूह, स्काउट, रेडक्रस, सामुदायिक समूह र सामाजिक सेवा संघसंस्थाले रक्तदान, सरसफाइ अभियान, समुदाय सेवा, वृक्षरोपण, राहत वितरण, सचेतना र सम्मान कार्यक्रम सञ्चालन गरेका छन्।
कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले स्वयंसेवकको भूमिका समाज रूपान्तरणको मेरुदण्ड रहेको भन्दै विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, समावेशी समाज निर्माण जस्ता क्षेत्रमा उनीहरूको निस्वार्थ योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
स्वयंसेवा क्षेत्रका विज्ञहरूका अनुसार विश्वभर करौडौँ मानिसहरूले औपचारिक वा अनौपचारिक रूपमा स्वयंसेवी सेवामा संलग्न भई समाज सुधारमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्। नेपालमा मात्र पछिल्ला वर्षमा युवा स्वयंसेवकको सहभागिता निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ।
यस वर्ष स्वयंसेवक दिवसको मूल संदेश "समुदायको लागी प्रतिबद्धता, साझा जिम्मेवारी र सहकार्य" रहेको छ। दिवसका अवसरमा विभिन्न सामाजिक संस्थाले निरन्तर योगदान पुर्याउँदै आएका प्रेरणादायी स्वयंसेवकलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका छन्।
आजको दिवसले सेवाभाव, सहयोग र मानवताका मूल्यलाई अझ प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।


















