मनु यादव निरज । सिरहा — मधेस प्रदेशको सिरहा जिल्ला, भगवानपुर गाउँपालिकाका पूर्व अध्यक्ष श्री बेचन प्रसाद यादवको जीवनयात्रा समाजसेवा, नेतृत्व र जनप्रतिबद्धताको निरन्तर उदाहरणको रूपमा प्रस्तुत हुँदै आएको छ।
गाउँमै डाक्टर पेशाबाट सेवा सुरु गरेका यादवले उपचारमार्फत जनताको स्वास्थ्य समस्या नजिकबाट बुझ्दै सामाजिक उत्तरदायित्वप्रति गहिरो अनुभव हासिल गरे। समाजमा शिक्षा नै विकासको मूल आधार हो भन्ने निष्कर्षमा पुग्दै उहाँले चिकित्सकीय अभ्यासबाट शिक्षा क्षेत्रमा प्रवेश गर्नुभयो र माध्यमिक तहका शिक्षकको रूपमा १८ वर्ष ६ महिना सेवा गर्नुभयो। पेन्सन पाउन १८ महिना मात्र बाँकी रहँदा पनि समाज परिवर्तनको लक्ष्यसहित उहाँले शिक्षण पेशाबाट राजीनामा दिँदै तत्कालीन गा.वि.स. अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभयो र विजयी हुँदै स्थानीय नेतृत्वमा प्रवेश गर्न सफल भए।
ग्राम विकास समितिको नेतृत्वपछि उहाँलाई सामाजिक सेवा तथा मानवतावादी अभियानमा उच्च जिम्मेवारी प्रदान गरियो र सिरहा जिल्ला रेडक्रस सोसाइटीको उपसभापति बनेर प्रदेशस्तरीय स्वास्थ्य उद्धार तथा संकट व्यवस्थापन अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभयो।
२०६३/०६४ को जनआन्दोलनपछि उदाएको मधेसी राजनीतिक परिवर्तनसँगै यादव मधेसी जनअधिकार फोरमबाट औपचारिक राजनीति र संगठनात्मक भूमिकामा सक्रिय भए। यही राजनीतिक यात्राको निरन्तरतामा २०७४ सालमा भगवानपुर गाउँपालिका अध्यक्षमा विजयी हुँदै पाँच वर्षसम्म गाउँपालिकालाई संस्थागत विकास, संरचनागत सुधार, सेवा प्रवाह आधुनिकिकरण जस्ता एजेन्डाहरूमा अघि बढाए।
यद्यपि २०७९ सालको स्थानीय तह निर्वाचनमा आफू समर्थित पार्टीभित्रैको अन्तरघातका कारण पराजित हुनुपरे पनि यादवको लोकप्रियता मधेस प्रदेश र जिल्लास्तरमा अझै बलियो रूपमा रहेको देखिन्छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार उहाँको साधारण स्वभाव, संगठन निर्माण क्षमता र जनमुखी दृष्टिकोणले उहाँलाई मधेस राजनीति भित्र अझै पनि प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गरिरहेको छ।
आज पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा संगठनात्मक सक्रियता, रणनीतिक सल्लाह र जनसम्पर्क प्रभावकै कारण यादवको भूमिका महत्वपूर्ण रूपमा विश्लेषित भइरहेको छ। डाक्टर, शिक्षक, सामाजिक सेवक हुँदै गाउँपालिकाको सर्वोच्च नेतृत्वसम्मको यात्राले श्री बेचन प्रसाद यादवलाई मधेसको राजनीतिक तथा सामाजिक नेतृत्वमा विशिष्ट परिचय दिलाएको छ।


















