संताेष यादव - सप्तरी, राजविराज।

संघर्षका कार्यक्रमअन्तर्गत जसपा नेपालले आज जिल्ला सदरमुकाम राजविराजस्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका मागहरू अघि सार्दै नेता तथा कार्यकर्ताहरूले प्लेकार्ड र ब्यानरसहित विरोधप्रदर्शन गरेका हुन्।

धर्नामा सहभागीहरूले संविधान संशोधन, समावेशिताको सुनिश्चितता, नागरिकताको समस्याको समाधान, मधेशका अधिकारको स्पष्ट कार्यान्वयन र राजनीतिक सहमतिको सम्मानका लागि सरकारलाई दबाब कायम राख्ने चेतावनी दिए। उनीहरूले पटक–पटक ध्यानाकर्षण गर्दा पनि मागहरू सम्बोधन नभएको भन्दै माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलनलाई तीव्र बनाइने घोषणा गरे।

कार्यक्रममा केन्द्रीय नेतृत्वदेखि स्थानीय तहका प्रतिनिधि, युवा तथा महिला संगठनका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो। पार्टीले यही कार्यक्रमलाई देशभरका जिल्लामा निरन्तरता दिने जनाएको छ।