मनु यादव निरज : सिरहा। १४ वर्षदेखि अधुरै रहेको कमला नदीको पुल अब जनताको चन्दाबाटै निर्माण गर्ने घोषणा भएको छ। कमला नदीको किनारमै आयोजित भेलामा रामरिझन यादव, डा. नवीन कुमार यादव, डा. कृष्णा यादव, डा. जामुन सिंह, इ. प्रविण यादव र भरत यादव सहित सयौँ स्थानीय नागरिक उपस्थित थिए।
सभालाई सम्बोधन गर्दै वक्ताहरूले कमला पुल निर्माणको ढिलाइले जनजीवन, व्यवसाय, स्वास्थ्य सेवा, शिक्षासहित दैनिक आवागमनमा ठूलो समस्या सिर्जना भएको उल्लेख गर्दै अब सरकार प्रतीक्षा नगरिने स्पष्ट गरे।
कार्यक्रममा सहभागीहरूले “जनताले चन्दा उठाएर भए पनि पुल बनाउने” संकल्प सार्वजनिक गर्दै, गाउँ–गाउँमा अभियान विस्तार गर्ने घोषणा गरे।
बैठकस्थलमा राखिएको ब्यानर, अधुरो पुल र उपस्थित ठूलो जनसमूहले पुल निर्माणको माग वर्षौँदेखि तातो मुद्दा रहँदै आएको देखाएको थियो।
यस महाअभियानका संयोजकहरूले चन्दा संकलन, स्वयंसेवा परिचालन र निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्ने जानकारी पनि दिए।
भेलामा स्थानीय बासिन्दाहरू उत्साहपूर्वक सहभागी हुँदै, पुल निर्माणलाई जनताको नेतृत्वमा अघि बढाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
जनताको चन्दा, जनताको नेतृत्व र जनताको पुल
कमलाको किनारबाट सुरु भएको यो अभियान अब सबै गाउँ–टोलमा विस्तार हुँदै लामो प्रतीक्षा अन्त्य गर्ने लक्ष्य सहित अघि बढाइएको छ।


















