मनु यादव निरज : जनकपुरधाम। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको नेतृत्वमा उच्चस्तरीय टोली आज जनकपुरधामस्थित पवित्र गंगासागरमा सम्पन्न भव्य गंगा आरतीमा सहभागी भयो। आरती कार्यक्रममा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख जयकान्त राउत, उपाध्यक्ष बसन्त कुशवाहा, महासचिव चन्दन सिंह, जनमत पार्टीका सचिव एवं पूर्वमन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य संजय यादव, नेतृ अनिता साह, प्रदेश सभा सदस्य र पूर्व मन्त्री रहेका महेश यादवलगायत पार्टीका अग्रज तथा सक्रिय नेता उपस्थित थिए।
साँझको विशेष आरतीमा सहभागी नेतागणले विधिपूर्वक पूजा–अर्चना गर्दै राष्ट्र, प्रदेश र जनताको हित, शान्ति, समृद्धि तथा सुशासनको लागि आशीर्वाद ग्रहण गरे। गंगासागरमा आयोजित यस आरतीले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश दिएसँगै जनकपुरधामको आध्यात्मिक महत्त्वलाई पनि झनै उजागर गरेको सहभागीहरूले बताए।
कार्यक्रममा भक्तजनको ठूलो सहभागिता रहेको थियो। धार्मिक उत्साह, सांस्कृतिक झल्को र आध्यात्मिक वातावरणले गंगासागरक्षेत्र साँझभर उज्यालो र भक्तिमय बनेको थियो।


















