मनु यादव निरज : सिरहा ।जनता समाजवादी पार्टी, नेपालले पुस १४ गते सोमबार जनकपुरधामको तिरहुतिया गाछीमा मधेश प्रदेशस्तरीय विरोध सभा आयोजना गर्ने भएको छ। पार्टीले सङ्घीयता, सुशासन, सामाजिक न्याय, समानता तथा समाजवादको संवर्द्धनका लागि सरकारप्रति दबाब सिर्जना गर्ने उद्देश्यसहित सभा गर्ने जनाएको छ।

उक्त विरोध सभामा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने छन् भने केन्द्रीय कार्यकारिणी सदस्य एवं मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ता लगायत पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थिति रहनेछ।
कार्यक्रममा प्रदेशभरिका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण नागरिकहरूको व्यापक सहभागिता अपेक्षा गरिएको पार्टीले जनाएको छ। जसपा नेपालले सभामा सहभागी भई आफ्नो आवाज उठाउन सम्पूर्णलाई आह्वान गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा मधेशका हक–अधिकारको संरक्षणका लागि एकताबद्ध हुनुपर्ने बताएको छ।


















