कुलानन्द यादव / सिरहा।
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका-२, श्रीपुरका २१ वर्षीय सत्यनारायण साफीको संघर्षपूर्ण जीवन यात्राले आज प्रेरणादायी मोड लिएको छ।

दैनिक मजदुरी गर्दै परिवारको दैनिकी धान्नुका साथै चिकित्सक बन्ने सपना पछ्याइरहेका साफी यस वर्ष दोस्रो प्रयासमै पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि छनोट भएका छन्।

कठिन परिस्थितिका बीच पनि हार नमानी निरन्तर परिश्रम र अटुट धैर्यका साथ अघि बढेका साफीको यात्रालाई अब संस्थागत सहयोगले थप सहज बनाएको छ।
साफी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्माणस्थलमा गिट्टी, बालुवा र सिमेन्ट बोकेर मजदुरी गर्थे। सोही सीमित आम्दानीबाट घरखर्च चलाउने, कर्जाको किस्ता तिर्ने र प्रवेश परीक्षाको तयारी गर्नु उनका लागि सजिलो थिएन। दिनभर शारीरिक श्रमपछि राति ढिलोसम्म किताबसँग जुध्नु उनको दैनिकी बनेको थियो।
विपन्न आर्थिक अवस्था र जिम्मेवारीका बाबजुद पनि लक्ष्यप्रति दृढ रहँदै उनले यस वर्ष पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने अवसर सुरक्षित गर्न सफल भएका हुन्।
एमबिबिएस प्रवेश परीक्षाको तयारीका क्रममा साफीले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट कर्जा लिएका थिए।
मजदुरीबाट आएको आम्दानीले कर्जा तिर्दै अध्ययनलाई निरन्तरता दिनु आफैंमा साहसिक निर्णय थियो। तर, उनले परिस्थितिलाई बहानाबनाएनन्; बरु त्यसलाई प्रेरणाका रूपमा लिएर आफ्नो लक्ष्यतर्फ अग्रसर रहे।

उनको संघर्ष, लगनशीलता र सफलताको कदर गर्दै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बरियारपट्टीले मंगलबार आयोजित वित्तीय साक्षरता तथा सम्मान कार्यक्रममा सत्यनारायण साफीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोगले साफीको एमबिबिएस अध्ययन यात्रा थप सहज हुने विश्वास व्यक्त गरिएको छ।
सम्मान ग्रहण गर्दै साफीले भने, “यो सहयोगले मेरो पढाइमा ठूलो राहत मिलेको छ। भविष्यमा विपन्न र संघर्षरत परिवारका मानिसहरूका लागि उपचारमा सहयोग गर्ने चिकित्सक बन्ने मेरो लक्ष्य छ।”
कार्यक्रमका प्रमुख अतिथि बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले व्यक्तिगत तर्फबाट ३१ हजार ५०० रुपैयाँ सहयोग घोषणा गर्दै गाउँपालिकाबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता देवी यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्।
नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव, बरियारपट्टी–३ का वडाध्यक्ष विनोद यादव, नवराजपुर–२ का वडाध्यक्ष सुरेशकुमार यादवलगायत जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकार र सामाजिककर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सत्यनारायण साफीको संघर्ष र सफलताले शिक्षा, परिश्रम र सामाजिक सहयोग एकसाथ मिलेमा असम्भव देखिने सपना पनि सम्भव हुने सन्देश दिएको छ।
















