कुलानन्द यादव/सिरहा, माघ १२ --आज माघ १२ गते देशभर अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै छ। हरेक वर्ष जनवरी २६ मा मनाइने यो दिन भन्सार कार्यालयकाे काम, जिम्मेवारी र देशकाे अर्थतन्त्रमा उसले पुर्याएको योगदान सम्झिने दिन हो।
भन्सार भनेको कर उठाउने ठाउँ मात्रै होइन, देशको सिमाना जोगाउने, अवैध सामान भित्रिन नदिने, तस्करी रोक्ने र सही तरिकाले आयात–निर्यात गराउने मुख्य ढोका पनि हो। यही कारणले भन्सारको भूमिका देशका लागि धेरै महत्वपूर्ण मानिन्छ।
सिरहा भन्सार कार्यालयमा पनि आज विभिन्न कार्यक्रम गरिएको छ। कर्मचारीहरूलाई सम्मान, सरसफाइ कार्यक्रम, सेवाग्राहीसँग अन्तरक्रिया जस्ता कामहरू भएका छन्। कार्यालय प्रमुखले भन्नुभयो, “अब भन्सारलाई झनै छिटो, सजिलो र पारदर्शी बनाउन डिजिटल सिस्टम प्रयोग भइरहेको छ।”
नेपालमा उठ्ने राजस्व मध्ये ठूलो हिस्सा भन्सार बाटै आउँछ। त्यसैले पनि भन्सार इमान्दार, चुस्त र कडाइका साथ काम गर्न जरुरी हुन्छ। अवैध सामान, नक्कली सामान, गुणस्तरहीन सामान भित्रिन नदिन भन्सार कर्मचारी दिनरात खटिरहेका छन्।
दिवसकाे अवसरमा सर्वसाधारण, व्यापारी र सेवाग्राहीलाई कानुनी बाटो अपनाउन, तस्करी नगर्न र राष्ट्रको विकासमा सहयोग गर्न आग्रह गरिएको छ।
भन्सार दिवसले भन्सार कार्यालयकाे कामलाई जनतासामु चिनाउने र यसको महत्व बुझाउने काम गरेको छ।



















