काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्। आर्थिक अनियमितता र टिकट वितरण प्रक्रियामा पैसालाई प्राथमिकता दिइएको आरोप लगाउँदै उनले बुधबार साधारण सदस्यसमेत नरहने निर्णय गरेकी हुन्।
मधेस प्रदेशकी संस्थापक सभापतिसमेत रहेकी शर्माले आफ्नो राजीनामा वक्तव्यमा पार्टीभित्र योगदान, क्षमता र योग्यताको मूल्य घट्दै गएको र आर्थिक पक्ष निर्णायक बन्दै गएको दाबी गरेकी छन्। उनका अनुसार, आदर्श र प्रतिबद्धताभन्दा पैसाको प्रभाव बढ्दै गएपछि पार्टीमा निरन्तरता दिन असम्भव बनेको हो।
समानुपातिकतर्फ उम्मेदवार बन्ने आकांक्षा राखेकी उनी प्रारम्भिक सूचीमा समावेश हुन नसकेपछि प्रत्यक्षतर्फ टिकटको दाबेदार बनेकी थिइन्। तर प्रत्यक्ष उम्मेदवार छनोट प्रक्रियामा पनि आर्थिक प्रभाव देखिएको अनुभव गरेपछि पार्टी छाड्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।


















