जनकपुरधाम : मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले कुनै कर्मचारी वा नेताले कामका लागि कमिसन मागे प्रमाण लिएर आउनको लागि आग्रह गरेका छन्।
मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए। “कमिसन माग्ने प्रवृत्ति सह्य हुँदैन, यस विषयमा हामी कुनै पनि हालतमा पछि हट्ने छैनौँ,” उनले भने।
उनका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त, समपूरक तथा विशेष अनुदानबाट सञ्चालन हुने विभिन्न आयोजनाहरूलाई पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध छ।
कार्यक्रममा सर्लाही र रौतहट जिल्लाका पालिका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूसँग आगामी योजनाहरू, बजेट कार्यान्वयनको अवस्था र देखिएका चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री यादवले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न र जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना अघि बढाउन निर्देशन दिए।
छलफलका क्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले बजेट कार्यान्वयनमा देखिएका समस्या, कर्मचारी अभाव, प्राविधिक जटिलता लगायतका विषयमा धारणा राखेका थिए। मन्त्री यादवले उठाइएका समस्याहरू समाधानका लागि प्रदेश सरकार आवश्यक पहल गर्ने आश्वासन दिए।
कार्यक्रममा प्रदेश सरकारका अर्थसचिव रामकुमार महतोको पनि उपस्थिति रहेको थियो।


















