काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार कर लगाउने सरकारी नीतिको विरोध गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार ‘युथ फर ट्रुथ’ नामक समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै उक्त प्रावधान तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो। प्रदर्शनकारीहरूले “महँगी सहिंदैन”, “कर बढी चाहिंदैन”, “महँगी घटाउ, राहत दिलाउ” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेको दाबी गर्दै सानो परिमाणमा ल्याइने दैनिक उपभोग्य सामानमा समेत कर लगाउनु जनजीविकामाथिको अतिरिक्त बोझ भएको बताएका छन्। उनीहरूले बढ्दो महँगीका बीच यस्तो नीति लागू गर्नु जनताको आर्थिक अवस्था झन् कमजोर बनाउने कदम भएको आरोप लगाए।
प्रदर्शनकारीहरूले सीमामा लागू गरिएको १०० रुपैयाँभन्दा माथिको भन्सार कर सम्बन्धी व्यवस्था तत्काल खारेज गरी जनमुखी नीति ल्याउन सरकारलाई आग्रह गरेका छन्।

हाल सरकारले सीमापारबाट ल्याइने सामानमा कडाइ गरेपछि विभिन्न क्षेत्रबाट असन्तुष्टि बढ्दै गएको देखिएको छ। प्रदर्शनकारीहरूले आफ्ना मागप्रति सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।


















