मनु यादव निरज, सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग, स्थानीयसँगको भनाभन तथा व्यवहार सम्बन्धी विषयमा छानबिन गर्न उनलाई बाहिनी तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताएका छन्।

हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी क्षेत्रमा भन्सार छली गरेर ल्याइएको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको थियो। सोही क्रममा डीएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा उनले स्थानीयलाई “तिमीहरू तस्कर हौ” भनेको सुनिन्छ। त्यसको प्रतिवाद गर्दै स्थानीयले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने प्रहरी आफैंमाथि प्रश्न उठाएका थिए।

घटनापछि स्थानीयहरूले प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए। सांसद यादवले सबै स्थानीयलाई तस्करको संज्ञा दिनु गैरकानुनी र अनुचित भएको बताएका छन्।

उनले प्रहरी पोशाकमै भारतीय नम्बर प्लेटको सवारी प्रयोग गरी नागरिकलाई त्रसित पार्ने कार्य स्वीकार्य नभएको भन्दै निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीको माग गरेका छन्।

सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाका अनुसार विवादपछि डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरी हेडक्वाटरमा तानिएको हो।