मनु यादव निरज : सिरहा । सिरहामा बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहिचान गर्न ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गरिने भएको छ। दलित विकास मञ्च (DDF) गोलबजार, सिरहाले हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय पालिकाहरूको समन्वयमा सञ्चालित “जीवनका लागि पोषण कार्यक्रम” अन्तर्गत यो अभियानमा सहयोग गर्ने भएको हो।


नेपाल सरकारको आयोजनामा सञ्चालन हुने यस अभियानअन्तर्गत सिरहा जिल्लाका सबै १७ वटै पालिकामा ६ महिनादेखि ५९ महिनासम्मका करिब ६० हजार बालबालिका तथा सुनौलो हजार दिनका करिब १४ हजार आमाहरूको पोषण अवस्था जाँच गरिनेछ।


दलित विकास मञ्चका कार्यकारी निर्देशक संजय महराका अनुसार बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि (MUAC) नापेर कुपोषणको अवस्था पहिचान गरिनेछ। समयमै कुपोषण पत्ता लगाएर आवश्यक उपचारमा जोड दिन अभियानको मुख्य उद्देश्य रहेको उनले बताए।


अभियान वैशाख १५ गतेदेखि ३० गतेसम्म जिल्लाभर सञ्चालन हुनेछ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण परीक्षण गरिनेछ।


कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग सेवामार्फत ‘तयारी उपचारात्मक खाना’ (RUTF) निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन गरिने जनाइएको छ।