कुलानन्द यादव ( सिराहा)बैशाख ३१ बिहीबार /
सिरहा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध, अवैध नगद ओसारपसार तथा गाँजा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रियता उल्लेखनीय रूपमा देखिन थालेको छ। विशेषगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म ईनर्वाका डीएसपी नरेश कुमार खड्का को नेतृत्वमा सञ्चालन भएका अपरेशनहरूले सीमावर्ती क्षेत्रमा सुरक्षा संयन्त्रप्रति स्थानीयको विश्वास बढाएको छ।

गत पुस २० गते नवराजपुर गाउँपालिका-३ तमसियामा परालको कुनिउमा लुकाइछिपाई राखिएको ४१ केजी ५०० ग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको थियो। विशेष सूचनाको आधारमा राति खटिएको टोलीले ठूलो परिमाणको गाँजा फेला पार्नु सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधिविरुद्धको कडा निगरानीको उदाहरण बनेको थियो।

त्यसैगरी पुस २७ गते भगवानपुर गाउँपालिका-४ ठाडीस्थित दशगजा क्षेत्र नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका २४ वर्षीय देवनाथ यादवलाई चेकजाँचका क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० सहित नियन्त्रणमा लिइएको थियो। सशस्त्र प्रहरीले नगदसहित मोटरसाइकल र मोबाइल फोनसमेत बरामद गरेको जनाएको थियो।
सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा पनि सुरक्षा निकायले निरन्तर सफलता हासिल गरिरहेको छ। फागुन ११ गते साँझ भगवानपुर गाउँपालिका-३ धातीस्थित चेकप्वाइन्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा डाइजेपाम, बुप्रेनोर्फिन, नाइट्राजेपाम लगायत विभिन्न लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको थियो।

त्यसअघि माघ २३ गते अभयनगर सीमा क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका थिए। यी घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बन्दै गएको स्पष्ट देखाएको स्थानीयवासी बताउँछन्।
यही सक्रियताका बीच आज ठाडी क्षेत्रमा सीमा सहजीकरण बैठक सम्पन्न भएको छ। डीएसपी नरेश कुमार खड्का को अध्यक्षतामा सम्पन्न बैठकमा वडा नं. ४ का वडा अध्यक्ष रामकुमार यादव, नेपाल प्रहरी ठाडीका वरिष्ठ सई विजय बस्नेत, स्थानीय बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, नागरिकका समस्या बुझ्ने र जनताको सहयोगसहित अपराध नियन्त्रणलाई मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। स्थानीयवासीले डीएसपी खड्का र वरिष्ठ सई विजय बस्नेतको कार्यशैलीप्रति सकारात्मक धारणा व्यक्त गर्दै “सुरक्षासँगै जनताको पीडा बुझ्ने अधिकारी” का रूपमा प्रशंसा गरेका छन्।
सीमा क्षेत्रमा सुरक्षा चुनौती बढिरहेका बेला सुरक्षा निकाय र स्थानीय समुदायबीचको सहकार्यले अपराध नियन्त्रणमा नयाँ विश्वास पैदा गरेको देखिन्छ।



















