कुलान्नद यादव : सिरहा । आज जेष्ठ औँसीका अवसरमा हिन्दू वैवाहिक महिलाहरूले श्रद्धापूर्वक बट सावित्री व्रत मनाइरहेका छन्। मिथिला क्षेत्रमा “बरसाइत” नामले परिचित यो पर्व सावित्री र सत्यवानको अमर प्रेम, निष्ठा र समर्पणको स्मरणमा प्रत्येक वर्ष मनाउने गरिन्छ।

धार्मिक मान्यता अनुसार, राजा अश्वपतिकी छोरी सावित्रीले वनमा बसोबास गर्ने सत्यवानसँग विवाह गरेकी थिइन्। सत्यवानको अकाल मृत्यु भएपछि सावित्रीले आफ्नो अटल प्रेम, बुद्धिमत्ता र साहसका बलमा यमराजबाट श्रीमानको प्राण फिर्ता ल्याएकी थिइन्। यही घटनालाई वैवाहिक निष्ठा र त्यागको अनुपम उदाहरणका रूपमा लिइन्छ।

मिथिलाञ्चलका महिलाहरूले विशेष श्रद्धाका साथ यो व्रत गर्ने परम्परा छ। बिहानै स्नान गरी निराहार व्रत बस्ने, बरको रुखमुनि पूजा गर्ने, बट सावित्री कथा सुन्ने तथा ज्येष्ठ व्यक्तिबाट आशीर्वाद लिने चलन रहिआएको छ। हिन्दू धर्ममा बरको रुखलाई अजर–अमर, दीर्घायु र स्थायित्वको प्रतीक मानिन्छ।

यो व्रतले पतिको दीर्घायु, सुखद दाम्पत्य जीवन तथा परिवारको समृद्धिका लागि प्रार्थना गर्ने विश्वास रहिआएको छ। धार्मिक ग्रन्थहरूमा सावित्रीको कथा श्रवण र वट वृक्षको पूजा गर्दा वैवाहिक सम्बन्धमा प्रेम, विश्वास र समर्पण अझ बलियो हुने उल्लेख गरिएको छ।

परम्परा, आस्था र संस्कृतिसँग गहिरो रूपमा जोडिएको बट सावित्री व्रत आज पनि मिथिला समाजको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा जीवित रहेको छ।