सिरहा । सिरहाको नवराजपुर गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट तथा फेयर एण्ड लभ्लीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।


विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले स १ ख ५३५ नम्बरको ट्रक चालकसहित नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको आशंकामा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।


नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गणमा राखिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम बाबु यादवका अनुसार बरामद सामानको यकिन परिमाण तथा मूल्यांकन कार्य भइरहेको छ ।


भोलि बिहान मात्रै सामानको परिमाण र मूल्यांकन सार्वजनिक गर्न सकिन्छ,” डिएसपी यादवले बताए ।


ट्रक नियन्त्रणमा लिने क्रममा प्रहरी र तस्करबीच झडपसमेत भएको सशस्त्र प्रहरी बलले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।