जनकपुर ।मधेश प्रदेशमा लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ । १ असारदेखि २० गतेसम्मको २० दिनमा प्रदेशका आठवटै जिल्लाबाट ५८ जना पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहाबाट सबैभन्दा धेरै १५ जना रहेका छन् । त्यसपछि पर्साबाट ११, धनुषाबाट १०, महोत्तरीबाट ९, बाराबाट ५, सप्तरी र सर्लाहीबाट ३/३ तथा रौतहटबाट २ जना पक्राउ परेका छन् ।
अभियानका क्रममा पक्राउ परेका व्यक्तिहरूको साथबाट गाँजा, ब्राउन सुगर (खैरो हिरोइन) तथा विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद लागुऔषधको परिमाण र त्यसको सञ्जालबारे थप अनुसन्धान जारी रहेको छ ।
प्रहरीले पक्राउ परेका सबैविरुद्ध लागुऔषध सम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
साथै, प्रदेशभर फैलिएको लागुऔषधको अवैध कारोबार, ओसारपसार तथा दुरुपयोग नियन्त्रणका लागि विशेष अभियानलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।




















