सिरहा : सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी स्वर्गीय सन्तोष सदाको परिवारलाई मौरिससमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। परिवारको दयनीय अवस्था देखेर संकलन गरिएको १० हजार रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
केही महिनाअघि बिरामीका कारण सन्तोष सदाको निधन भएपछि उहाँको परिवार आर्थिक संकटमा परेको छ। आमा, श्रीमती, चार छोरी र एक छोरासहितको परिवार अहिले आयआर्जनको स्थायी स्रोतविहीन अवस्थामा छ। उनीहरू बस्दै आएको टिनको छाना र माटोको घर जीर्ण भएकाले वर्षायाममा थप समस्या हुने गरेको स्थानीयको भनाइ छ।

परिवारको अवस्थाबारे जानकारी पाएपछि मौरिससस्थित Winners Moka मा कार्यरत नेपाली युवाहरूले सहयोग अभियान सञ्चालन गरेका थिए। अभियानमार्फत संकलित १० हजार रुपैयाँ परिवारलाई उपलब्ध गराइएको हो। सहयोग अभियानमा शिवकुमार यादव, रामानन्द गुप्ता, मनुसा, राहुल ठाकुर, रोशन चौधरी, दीपेन्द्र गिरी, राम, अशोक, ओमप्रकाश तथा इन्द्रजीत ठाकुरलगायतको सहभागिता रहेको थियो।
स्थानीय समाजसेवी विनोद यादवले सन्तोष सदाको परिवार अत्यन्त विपन्न अवस्थामा रहे पनि हालसम्म स्थानीय सरकारबाट उल्लेखनीय सहयोग नपाएको बताए। परिवारको वास्तविक अवस्था बुझेर सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने उनको आग्रह छ।

स्थानीय सरोज यादवले आफ्नो समन्वयमा मौरिससमा रहेका नेपालीहरूबाट सहयोग जुटाइएको बताउँदै आगामी दिनमा पनि यस्ता असहाय परिवारका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।
सहयोग अभियानमा सक्रिय शिवकुमार यादवका बुवा विष्णुदेव यादवले विदेशमा रहेका नेपालीहरूले मानवीय भावनाले प्रेरित भएर सहयोग जुटाएको उल्लेख गर्दै रकम ठूलो नभए पनि पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।
स्थानीयवासीले विदेशमा रहेर पनि जन्मभूमिका दुःखमा साथ दिने नेपालीहरूको यो पहललाई उदाहरणीय मान्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिन र सम्बन्धित निकायले पनि पीडित परिवारप्रति आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।




















