सिरहा — सिरहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आइतबार दिउँसो करिब १:४५ बजे कर्जन्हा नगरपालिका–११ नयाँटोलस्थित एक घरमा लागुऔषध लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी कर्जन्हाबाट खटिएको टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कर्जन्हा–६ निवासी राम उदगार महतोको घरबाट १० वटा साना प्लास्टिकका प्याकेटमा राखिएको ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल प्लास्टिकसहित १.४४ ग्राम र प्लास्टिकबाहेक ८८० मिलिग्राम रहेको छ।

प्रहरीले घटनास्थलबाट नगद ५ हजार ७४० रुपैयाँ, दुई थान टचस्क्रिन मोबाइल र एक थान की–प्याड मोबाइलसमेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–९ घर भई हाल कर्जन्हा–११ मा डेरा गरी बस्दै आएका २४ वर्षीय अवधेश महरा र कर्जन्हा–९ कै ३१ वर्षीय सुनिल महरा रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।