लहान : आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई बिहीबार नियन्त्रणमा लिएको हो। पक्राउसँगै सरकारी नम्बर प्लेटको सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक जानकारीअनुसार सेवासम्बन्धी काम सहजीकरण गरिदिने भन्दै कर अधिकृत पालले ५ लाख रुपैयाँ घुस मागेको उजुरीपछि अख्तियारले विशेष निगरानी राखेर अपरेसन सञ्चालन गरेको थियो। त्यसक्रममा घुस रकमसहित उनलाई रंगेहात पक्राउ गरिएको हो।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको छ।




















