सिरहा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचनामा परेका छन्। भिडियो सार्वजनिक भएसँगै सडक सुरक्षासम्बन्धी नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ।
सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद गुप्ता सार्वजनिक भएको भिडियोमा हेल्मेट नलगाई गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ। ट्राफिक नियमको बेवास्ता गर्दै जोखिमपूर्ण ढंगले यात्रा गरेको भन्दै उनको आलोचना भइरहेको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गर्नु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन्। उनीहरूले सांसदजस्ता जिम्मेवार व्यक्तिले कानुन पालना गरेर नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने बताएका छन्।
घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकल जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिए।
“बाइक सवारीका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्छु। जरिवाना काट्न सवारी ट्राफिक प्रहरी कार्यालय पठाएको छु,” गुप्ताले भने, “हामी एक कार्यक्रमका लागि भसुवातर्फ जाँदै थियौं। यसमा अरू विशेष कुरा छैन।”
सांसद गुप्ताको भिडियो अहिले पनि सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ भने उक्त घटनाले सार्वजनिक पदाधिकारीको जिम्मेवारी र सडक सुरक्षाप्रतिको सचेतनाबारे बहससमेत सुरु भएको छ।




















