सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सुनसरीमा भएको घटनाको सन्दर्भमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा धार्मिक र साम्प्रदायिक द्वेष फैलाउने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल द्वारा जारी सूचनामा २०८३ साउन १० गते सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत पुराना घटना वा भ्रामक सामग्री प्रचार गरी धार्मिक तथा सामुदायिक सद्भाव बिगार्ने प्रयास भइरहेकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रशासनले विभिन्न जातजाति, भाषा, धर्म तथा सम्प्रदायबीच आपसी एकता, सहिष्णुता, सद्भाव र भ्रातृत्व कायम राख्न सबै नागरिक, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
साथै, समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामाथि आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।




















