सिरहा — जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा हुलदंगा भई शान्ति–सुरक्षामा असर पुग्न सक्ने निष्कर्षपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

आदेशअनुसार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू रहनेछ।

कर्फ्यूको क्षेत्र गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि चोहर्वा चोकसम्मको पूर्व–पश्चिम राजमार्ग क्षेत्र, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ स्थित रामप्रसाद–रामराजा बहुमुखी क्याम्पस वरपरसम्म तोकिएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, जिल्लाको शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरिएको छ।