सुनसरी, साउन १४।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज मा गत साउन १० गते भएको दुःखद घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच २०८३ साउन १४ गते ७ बुँदे सहमति भएको छ।

सम्झौताअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक मृतकका परिवारलाई रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, साउन १० गते राति देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज मा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ।
सम्झौतामा देवानगञ्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा २०८३ साउन १९ गते दिउँसो २ बजे मृतकहरूको शव बुझ्ने सहमति पनि हस्तलिखित रूपमा थपिएको छ।
उक्त ७ बुँदे सम्झौतामा मृतकका अभिभावक र गृह मन्त्रालयका तर्फबाट हस्ताक्षर गरी आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता औपचारिक रूपमा टुंगिएको छ।


















