सिरहा र धनुषा जिल्लाको सीमानामा रहेको कमला नदी पार गर्न बनाइएको बाँसको पुल बाढीले बगाएपछि डुङ्गाबाट आवागमन सुरु भएको छ ।

केहि दिनदेखि भइरहेको वर्षाका कारण आएको बाढीले अस्थायी बाँसको पुल बगाएपछि अहिले नदी वारपारी गर्न दुई वटा डुङ्गा सञ्चालनमा छ ।

चार वर्ष अघि हुलाकी मार्ग सञ्चालनमा ल्याउन निर्माण भएको कमला पुल बाढीका कारण भासिएपछि वैकल्पमा बाँसको पुलबाट आवागमन गर्न स्थानीयहरु बाध्य हुँदै आइरहेका थिए ।

बाँसको पुल बनाउने र प्रत्येक वर्ष बाढीले बगाउने गरेकाले यस वर्षदेखि डुङ्गाको प्रयोग गर्न थालेका छन् । यस वर्ष बनाएको अस्थायी बाँसको पुलबाट आवतजावत गर्न मोटरसाइकलले ५० रुपियाँ तिर्नुपर्छ भने व्यक्तिले २० रुपियाँ तिर्नुपर्छ ।

सिरहा नगरपालिका–५ बसबिटाका स्थानीय किसानहरुको खेती कमलापारी धनुषा जिल्ला कमलमाई नगरपालिकामा रहेकाले रोपाइँ गर्न र गाईभैँसीका लागि घाँस ल्याउन डुङ्गाको प्रयोग गर्न बाध्य छन् ।

५० वर्षीय धर्म देवी यादव भन्नुहुन्छ, ‘‘कमलामा पुल निर्माण हुँदै गर्दा खुसीले मन गदगद थियो । पुलको प्रयोग गर्न नपाउँदै पुल भासिएरपछि सारा सपना कमला नदीमै बग्यो । कहिले फेरि पुल निर्माण होला, कुनै टुङ्गो छैन । हाम्रो लागि त अकाशबाट खसे झै भयो । यो पीडा कसलाई सुनाउने ?’’

डुङ्गाबाट घाँससहित खेतिपातीको कामबाट फर्केका सिरहा बसबिटाका अन्य किसानहरुको पीडा पनि धर्म देवीकै जस्तो छ ।डुङ्गा चालक छेदी मुखियाले बाँसको पुल बगाएपछि बाध्य भएर पुरानो डुङ्गा  कमला नदी पार गराउन प्रयोग गरिरहेको बताउनुभयो । उहाँले डुङ्गामा मोटरसाइकल, साइकल घाँस र अन्य सामग्रीसहित मानिसलाई नदी पार गराउन जोखिम रहेको पीडा सुनाउनुभयो ।

‘‘दुई वटा डुङ्गा मात्रै चलिरहेको यस कमला नदी पार गर्न मोटरसाइकलको सय रुपियाँ र प्रति व्यक्ति ५० रुपियाँको दरले लिन्छन् । तर नदी पार गर्न करिब एक घण्टासम्म पालो पर्खनु पर्छ । डुङ्गा चढेर नदी पार गर्न पनि निकै डर छ ।’’ लाग्यो’’, जनकपुर जान लागेको बिनोद यादवले भन्नुभयो । पुल पुनर्निर्माणका लागि सिरहा नगरपालिकाको युवाहरुले मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयमा गत वर्ष अनसनमा समेत बसेको थिए । पुलको पुनर्निर्माण मधेश प्रदेश सरकारले गर्न नमिल्ने भएकाले अर्को स्थानमा पुलर्निर्माणको डिपिआर तयार गर्न मधेश सरकारले यस आर्थिक वर्षमा एक करोड विनियोजन गरेको छ ।

पुल भासिएको चार वर्षमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभागीय मन्त्रीहरुको अवलोकन गर्दा समेत पुलको पुनर्निर्माण नभइरहेकाले ठुलो सास्ती भोगिरहनु परेको सिरहा नगरपालिका –५ का वडाध्यक्ष जागेश्वर यादवले बताउनुभयो ।

करिब ४७० मिटर लामो ११ मिटर चौडाइ कमला पुल साढे तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु विल्डर्स क्न्ट्रक्शनले जिम्मा लिएको थियो । पटक–पटक म्याद थप्दा पनि पुल निर्माणको कार्य अघि नबढ्दा स्थानीयहरुले पुल निर्माणका लागि संघर्ष समिति बनाएर दबाब सृजना गर्दा हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्ट्रक्शनबाट ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्ट्रक्शनसँग सम्झौता गरिएको थियो ।

२०७८ असार १३ गतेसम्ममा सम्पन्न गर्नेगरी निर्माण कार्य सम्पन्न गर्नेगरी कार्य तीव्र रुपमा अघि बढेको थियो । निर्माण कार्य सम्पन्न भएपछि उद्घाटनकका लागि तयारी भइरहेको समयमा २०७८ असार १७ गते आएको बाढीका कारण पुलको पूर्वी –पश्चिमी पाया भासिएको छ ।