जनकपुरधाम। विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा मंगलबार भव्य रूपमा स्वयम्बर सम्पन्न भएको छ। राम–जानकीको दिव्य स्वयम्बर दर्शन गर्न रंगभूमिमा श्रद्धालुहरूको विशाल जनसागर ओर्लिएको देखिन्थ्यो।

स्वयम्बरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेका थिए।

जानकी मन्दिर डोलाको नेतृत्व महन्थ रामरोशन दास वैष्णवले गरेका थिए भने राम मन्दिर डोलाको नेतृत्व महन्थ राम गिरीले गरेका थिए। दुवै डोलासँग साधु–सन्तसहित हजारौँ भक्तजनहरूको उपस्थितिले वातावरण अत्यन्तै उल्लासमय बनेको थियो।

स्वयम्बरको क्रममा जानकी मन्दिरका डोलासहित महन्थ, पुजारी तथा साधुले राम मन्दिरको डोलालाई विशेष पूजा अर्चना गरे। पूजा पश्चात् परम्परानुसार जानकीको डोलाबाट रामको डोलाको सात पटक परिक्रमा गरियो।

स्वयम्बर सम्पन्न भएपछि जनकपुरधामका विभिन्न मन्दिरका झाँकी सहित भव्य शोभायात्रा निकालियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरी वातावरणलाई अझ भक्तिमय बनाइएको थियो।

सीता–राम विवाहको मुख्य कार्यक्रम आज राति जानकी मन्दिर परिसरमा आयोजना हुने छ। त्यसका लागि मन्दिर प्राङ्गणमा आकर्षक मण्डप निर्माण गरिएको जनाइएको छ।