कुलानन्द यादब/सिरहा, २०८२ मंसिर १४ ।
मिथिला टाइम्स राष्ट्रिय दैनिकका सम्पादक शिव दयाल यादवमाथि हालै दिइएको ज्यान मार्ने धम्की सम्बन्धी घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ, सिरहा शाखाले यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएको छ। महासंघले घटनालाई माथिल्लो तहबाटै प्रेस स्वतन्त्रातामाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ।
प्राप्त जानकारीअनुसार सिराहास्थित महालक्ष्मी जलेश्वरका स्वयंघोषित राजा साहले “भिडियो किन बनायौ ?” भन्दै सम्पादक यादवलाई फोनमार्फत अश्लील गालीगलौज गर्दै खुल्लामखुल्ला ज्यान मार्ने चेतावनी दिएका छन्। धम्कीको प्रकृति अत्यन्त आपराधिक र प्रेस गतिविधिमाथि लक्षित भएको महासंघले उल्लेख गरेको छ।
नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज ब्रह्मा यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि
“स्वतन्त्र र निष्पक्ष पत्रकारीतामाथी गरिएको यस्तो आक्रमण कुनै हालतमा सह्य हुँदैन। समाचार र तथ्य सार्वजनिक गर्ने पत्रकारको वैधानिक भूमिकालाई कमजोर पार्ने, त्रास फैलाउने र अभिव्यक्ति स्वतन्त्रातालाई कुन्द्याउने प्रयासको हामी घोर निन्दा गर्दछौँ।”
महासंघले सम्पादक यादवको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा निकायलाई तत्काल कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ। प्रेस स्वतन्त्रातामाथिको यस प्रकारको प्रत्यक्ष धोकाले लोकतान्त्रिक प्रणाली नै प्रभावित हुने भएकाले स्थानीय प्रशासनले ढिलाइ नगरी आवश्यक कदम चाल्न महासंघले जोड दिएको छ।
पत्रकार महासंघ, सिरहा शाखाले प्रेसमाथिको कुनै पनि प्रकारको दमन, धाकधम्की वा दुव्र्यवहार सहन नहुने चेतावनी दिँदै पत्रकारहरूको सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरेको छ।


















