विराटनगर ।मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रमा स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित एक व्यक्ति पक्राउ परेका छन्। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त मोटरसाइकलका चालक बिराटनगर–१८ निवासी रवि शाहको साथबाट ६ लाख ४९ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको छ। रकम कताबाट ल्याइएको हो र त्यसको स्रोत के हो भन्नेबारे शाहले स्पष्ट जानकारी दिन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको नगदबारे थप खुलासा गर्न तथा सम्भावित अवैध कारोबारको जाँचबुझ गर्न शाहलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। हाल घटनासम्बन्धी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।


















