मनु यादव निरज - सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिण्डा (पर्सा) निवासी रविन्द्र कामैतको घरमा हिजो दिउँसो भीषण आगलागी भएको छ। आगलागीबाट दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीयले बताएअनुसार घरभित्र देखि अचानक आगो सल्किएपछि सेकन्डमै फैलिँदै दुईवटै संरचना पूर्ण रूपमा क्षति पुगेका हुन्। आगोको तीव्रता बढ्दै गएपछि स्थानीय युवाहरूले जोखिम मोल्दै निरन्तर प्रयास गरी आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। दमकल समयमै नआएको हुँदा स्थानीयको सक्रियताले ठूलो जनधन क्षति हुनबाट जोगिएको बताइएको छ।

आगलागीको कारणको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ। घटनापछि गाउँमा त्राससहित नै उद्धार र सहयोग अभियान सुरु भएको छ।
यसैबीच, घटनास्थलमा घरधनी परिवार अहिले अस्थायी छाप्रोमा बस्नुपर्ने अवस्था पुगेको बताइएको छ।

स्थानीय प्रशासनले आगलागीबाट भएको क्षतिको मूल्यांकन सुरु गरेको छ भने प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।