मनु यादव निरज :
जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेकपामाथि गहिरो विश्वास राखेको दाबी गरेका छन्।
शनिबार जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एसिड आक्रमण पीडित मुस्कान खातुन जस्ता युवाहरू पार्टीमा आइसकेको र देशभर जेनजी पुस्ताको आकर्षण निरन्तर बढ्दै गएको बताए।
नेपाली जनताको अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न कम्युनिस्ट शक्तिहरू एकीकृत भएको उल्लेख गर्दै नेपालले “युवा पुस्ताका माग जायज छन्, ती माग पूरा गराउन नेकपा प्रतिबद्ध छ,” भने।
मधेशसँगको आत्मीयता व्यक्त गर्दै उनले सिरहा–जनकपुर आफ्नो मामाघर भएको बताउँदै मधेशको पहिचान, सम्मान र अधिकारका सवालमा नेकपा अग्रसर रहेको दाबी गरे।
उनले ज्येष्ठ नागरिक, दलित, मुस्लिम सहित उत्पीडित समुदायको अधिकारका मुद्दामा नेकपाले निरन्तर आवाज उठाउँदै आएको स्मरण गराए।
रोजगारीका अभावमा नेपाली युवाहरू विदेशिनु नपरोस् भन्ने लक्ष्यसहित पार्टी अघि बढेको बताउँदै सहसंयोजक नेपालले देश विकास र समृद्धिका लागि सबैलाई एकीकृत भएर अगाडि बढ्न आह्वान गरे।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र हजारौं नागरिकको उपस्थिति रहेको जनाइएको छ।


















