कुलानन्द यादव/सिरहा पुस १२:उहाँलाई पहिलो नजरमा हेर्दा लाग्छ शान्त, सरल र सधैं मुस्कान बोकेकी एक साधारण आमा । तर त्यो मुस्कानभित्र लुकेको छ एउटा असह्य पीडा, एउटा नभरिने घाउ र एउटा इतिहास, जसलाई शब्दले मात्र बोक्न सक्दैन । लिला देवी परियार कुनै साधारण महिला होइनन्, उहाँ संघर्ष, त्याग र बलिदानकी जीवित प्रतिमा हुनुहुन्छ ।
आमा बन्नु भनेको गर्भ धारणसँगै हजारौँ सपना बोकेर हिँड्नु हो । गर्भभित्र पलाइरहेको सन्तानको साससँगै आफ्नै सास जोडिनु हो । नौ महिना नौ जुनी सरह पीडालाई सहेर, आमाले केवल सन्तान जन्माउँदिनन् उनी भविष्य जन्माउँछिन् । बच्चा जन्मिनु अघि नै आमा उसको अनुहार कल्पना गर्छिन्, उसको हाँसो देख्ने सपना देख्छिन्, र आफ्नै जीवन उसैमा अर्पण गरिसकेकी हुन्छिन् ।
लिला देवी परियारले पनि त्यही गरिन् । आफ्ना छोरा अमित परियारलाई सन्तान मात्र होइन, जीवनको आधार ठानेकी थिइन् । तर नियतिले उहाँसँग सबैभन्दा ठूलो मूल्य माग्यो । माओवादी जनयुद्धको कालखण्डमा राज्य पक्षबाट गोली हानी अमित परियारको हत्या गरियो । त्यो दिन केवल एक युवक मारिएन, एक आमाको संसार उजाडियो ।
शहिद अमित परियार राज्यकै सेवामा लागेका, परिवर्तनका सपना बोकेका सपूत थिए । उहाँको रगतले देशको माटो रातो भयो, तर आमाको काख सधैंका लागि सुनसान बनाइयो । त्यो पीडालाई शब्दमा उतार्न सकिँदैन मुटु चिरिएर पनि बाँच्नुपरेको पीडा हो त्यो ।
तर शहिदको सपना कहिल्यै मर्दैन । दाजुको बलिदानलाई जीवनको मार्ग बनाउँदै कान्छा छोरा विवेक परियार आज पनि परिवर्तनको बाटोमा उभिएका छन् । दाजुले अधुरा छाडेका सपना पूरा गर्ने जिम्मेवारी बोकेर उहाँ अघि बढिरहनु भएको छ ।
हिजो जनयुद्धको अगुवाइ गर्ने माओवादी शक्ति आज नेपाली कम्युनिस्ट पार्टीको रूपमा संगठित छ । यही पार्टीको लक्ष्मीपुर पतारी गाउँपालिका स्तरीय बैठकले आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं. १ बाट संघीय समानुपातिक सांसदको रूपमा विवेक परियारलाई सिफारिस गरेको छ ।
यो सिफारिस कुनै सामान्य राजनीतिक निर्णय होइन । यो निर्णय शहिद अमित परियारप्रतिको सम्मान, लिला देवी परियारप्रतिको न्याय र बलिदानी परिवारप्रतिको भरोसा हो ।
अब यो प्रस्तावलाई अझ बलियो बनाउन, शहिदको रगतको कदर गर्न र जनताको विश्वासलाई कायम राख्न नेपाली कम्युनिस्ट पार्टीको जिल्ला स्तरीय कमिटीबाट अनुमोदन हुनु अनिवार्य देखिन्छ ।
शहिदको बलिदान केवल सम्झनामा सीमित नरहोस्, त्यो राज्यको नीति र निर्णयमा प्रतिबिम्बित होस्—यही आजको ऐतिहासिक आवश्यकता हो ।

IMG_20251227_104925