सिरहा — सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली निवासी भोगेन्द्र यादवका करिब ३ वर्षीय छोरा अभियानशु कुमार यादव हराएको घटनाले स्थानीय क्षेत्रमा चिन्ता र तनाव बढाएको छ।
परिवारका अनुसार बालक शनिबार बिहानदेखि सम्पर्कविहीन छन्। उनी हाल बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामा घरमा बस्दै आएका थिए। घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको पोखरीमा डुबेको हुनसक्ने आशंका गरिएको परिवारले जनाएको छ।
घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको भए पनि प्रभावकारी खोजी कार्य नभएको भन्दै परिवारले असन्तुष्टि जनाएको छ। “प्रहरीले सामान्य टिपोट मात्रै गर्यो, गम्भीर रूपमा खोजी भएन,” परिवारका एक सदस्यले भने।
स्थानीयवासीका अनुसार बालक हराएको लामो समय बितिसक्दा पनि कुनै ठोस सुराक नलाग्दा परिवार थप पीडामा परेको छ भने गाउँभरि त्रास फैलिएको छ।
बरियारपट्टी गाउँपालिका–४ का वडा अध्यक्ष नवीन यादवले घटनाको जानकारी पाएलगत्तै पोखरीमा जाल प्रयोग गरेर खोजी गरिएको बताए। “पोखरीमा सम्भावित खोजी गरियो, तर अहिलेसम्म केही फेला परेको छैन,” उनले भने।
बालक हराएको घटनापछि स्थानीयले प्रहरीको खोजी कार्यप्रति प्रश्न उठाउन थालेका छन्। परिवारले बालकलाई कसैले देखे वा कुनै जानकारी पाए तत्काल प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ।
सम्पर्क नम्बर : 9862999554, 9842835034, 9705464341
प्रहरी सहायता नम्बर : १००


















