सिरहा — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिरहामा दिउँसो साढे ३ बजेसम्म ६२ प्रतिशत मतदान भएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। तीमध्ये सिरहा–१ मा १ लाख ११ हजार ९४९, सिरहा–२ मा १ लाख १५ हजार ७६०, सिरहा–३ मा १ लाख १९ हजार २५० र सिरहा–४ मा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन्।

मतदानका लागि जिल्लाभर ५ सय ३१ मतदान केन्द्र कायम गरिएको छ। बिहानदेखि नै मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा उपस्थित भई मतदान गरिरहेका छन्।

जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन्। सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने मतदान कार्यमा खटिएका कर्मचारीहरू पनि आ–आफ्नो जिम्मेवारीमा सक्रिय छन्।