मनु यादव निरज, सिरहा ।सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा सीमा विहीन तथा जुनोटिक (पशुबाट मानिसमा सर्ने) रोग नियन्त्रणका लागि सरोकारवालासँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पशु क्वारेन्टाइन कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बराल, भगवानपुर गाउँपालिका–४ स्थित रहेको ठाडी भन्सार कार्यालयका प्रमुख मुकेश पाठक, नवराजपुर गाउँपालिका–५ का वडा अध्यक्ष जयप्रकाश यादव, सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सीमावर्ती क्षेत्रमा पशुजन्य रोगको जोखिम, त्यसको रोकथामका उपाय, जनचेतना अभिवृद्धि तथा सम्बन्धित निकायबीच आवश्यक समन्वयबारे विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले सीमा क्षेत्रबाट फैलिन सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी निगरानी, नियमित स्वास्थ्य परीक्षण तथा जनसहभागिता अत्यन्त आवश्यक रहेकोमा जोड दिएका थिए।


















