सिरहा । सिरहाको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखाविरुद्ध बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै गम्भीर गुनासो उठेको छ। विशेषगरी ग्रामीण भेगका महिलाहरूले वर्षौंदेखि जम्मा गरेको बचत रकम फिर्ता नपाएपछि आक्रोश बढ्दै गएको हो।


नवराजपुर गाउँपालिका–३ का युवा नेता सुरेश यादवका अनुसार पीडित महिलाहरूको ठूलो समूह आफ्नो समस्या लिएर उनीसमक्ष पुगेपछि उनी स्वयं सहकारीको शाखा कार्यालय पुगेका थिए। त्यहाँ पुगेर बुझ्दा संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न लगातार आलटाल गरिरहेको स्पष्ट देखिएको उनले बताए।


यादवले सहकारी व्यवस्थापनलाई तीन दिनभित्र समस्या समाधान गर्न अल्टिमेटम दिइएको जानकारी दिए। उनले भने, “तोकिएको समयभित्र बचतकर्ताको रकम फिर्ता नभए सशक्त आन्दोलनमा उत्रिनेछौं।”


स्थानीयका अनुसार लहान शाखामा पनि यस्तै समस्या देखिएको छ। महिलाहरू दैनिकजसो आफ्नो बचत फिर्ता लिन कार्यालय धाइरहेका छन्। सखुवानन्कारकट्टी गाउँपालिका–४ र ५ का महेशबारी–खैरबोना क्षेत्रका करिब दुई दर्जन महिलाले रकम फिर्ता नपाएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरीसमेत दर्ता गरिसकेका छन्।


स्थानीय समुदायमा सहकारीहरूले सहुलियत ऋणको प्रलोभन देखाएर बचत संकलन गर्ने तर रकम फिर्ता गर्ने बेला ढिलाइ गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो छ। यसले आर्थिक रूपमा कमजोर वर्ग झन् समस्यामा परेको देखिन्छ।


सम्बन्धित निकायले तत्काल छानबिन गरी बचतकर्तालाई न्याय दिनुपर्ने माग स्थानीयस्तरबाट उठिरहेको छ। समयमै समाधान नभए ठूलो सामाजिक र आर्थिक संकट निम्तिन सक्ने भन्दै पीडितहरूले छिटो हस्तक्षेपको अपेक्षा गरेका छन्।