मनु यादव निरज: सिरहा — सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासी र व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले हुलाकी मार्ग अवरुद्ध गरेपछि पूर्व–पश्चिम आवागमन प्रभावित बनेको छ ।
नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएपछि स्थानीय स्तरमा विरोध सुरु भएको हो ।
आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ को बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर बिहान करिब साढे ८ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक अवरोधका कारण हुलाकी मार्ग हुँदै सञ्चालन हुने सवारीसाधन रोकिएका थिए ।
स्थानीय व्यापारी तथा बासिन्दाले भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती व्यापार, राजस्व संकलन र स्थानीय आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने बताएका छन् । उनीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले आन्दोलनकारीसँग वार्ता भइरहेको बताए । उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक पनि घटनास्थलमा पुगेका छन् ।
प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत स्थानीयवासी सहभागी थिए ।


















