मनु यादव निरज : सप्तरी — सप्तरीको बलानबिहुल गाउँपालिकाको १३औँ गाउँसभा बुधबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५२ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष रेनु यादव प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरी, वडा नं. १ का अध्यक्ष रामकुमार यादव, वडा नं. ३ का अध्यक्ष राजकिसोर यादव तथा वडा नं. ५ का सदस्य उपेन्द्र यादवलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यपालिका सदस्यहरू, महिला सदस्यहरू, वडा सदस्यहरू तथा विभिन्न वडाका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०७९/०८० देखि गाउँपालिकाले निरन्तर रूपमा समयमै नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आएको बताए। उनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पनि असार १० गतेभित्रै बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरी पारित गरिएको जानकारी दिए।
उनले विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने उल्लेख गर्दै गाउँसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे।
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, शाखा प्रमुख, कर्मचारी, नगर प्रहरी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। गाउँसभाको स्वागत मन्तव्य कार्यपालिका सदस्य सञ्जीव कुमार शर्माले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन तथा व्यवस्थापनबारे जिन्सी शाखा प्रमुख सुरेन्द्र कुमार यादवले जानकारी गराएका थिए।
सभामा प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि सदस्यहरूले सुझाव राखेका थिए। छलफलपछि आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित ५२ करोड रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरिएको घोषणा गरिएको थियो।
गाउँपालिकाका जनप्रतिनिधिहरूले समयमै बजेट पारित हुनु स्थानीय सरकारको प्रभावकारी कार्यसम्पादन र विकासप्रतिको प्रतिबद्धताको उदाहरण भएको बताएका छन्। गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले आगामी वर्ष गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।




















