सप्तरी: सप्तरीको बोदेबरसाईन नगरपालिका–५ अन्तर्गत राजविराज–बलान हुलाकी सडक खण्ड स्थानीयवासीले अवरुद्ध गरेका छन्।
कल्भर्टबाट पानीको निकास अवरुद्ध हुँदा करिब १० घर तथा ७ विघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
बोदेबरसाईन–४ का वडाध्यक्ष किरण कुमार साहले पानी निकास नहुँदा स्थानीयले ठूलो सास्ती भोग्नुपरेको भन्दै सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्नुपर्ने बताए।
स्थानीय मोहम्मद इसराइलका अनुसार विगत १५ दिनदेखि घरहरू डुबानमा परेका छन्। नगरपालिकालाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएपछि बाध्य भएर हुलाकी सडक अवरुद्ध गरिएको उनले बताए।
सडक अवरुद्ध भएपछि राजविराज–बलान सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। स्थानीयले पानी निकासको स्थायी समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।




















