IMG_20251129_184820

कुलानन्द यादब सिरहा (लहान), १३ मंसिर ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा क्षेत्र नं. १ ले आफ्नो चुनावी तयारीलाई झनै तीव्र बनाएको छ। लहानको कुशवाहा धर्मशालामा बसेको विशेष भेलाले पार्टीलाई वैकल्पिक शक्ति बनाएर संगठनलाई वडादेखि तल्लो तहसम्म मजबुत बनाउने ठोस योजना पारित गरेको छ।

पार्टीको नीति–रणनीति अझै बलियो बनाउन बोलाइएको उक्त भेलाले आउने निर्वाचनलाई लक्ष्य गर्दै सबै कमिटीलाई सक्रिय बनाउन निर्णय गर्यो। ‘घर–घरमा जसपा’ अभियान चलाएर सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको पक्षमा मतदातामाझ आफ्नो एजेन्डा पुर्‍याउने प्रतिबद्धता पनि भेलाले व्यक्त गर्यो।

विशेषगरी युवा, महिला र विभिन्न समुदायलाई समेटेर मतदाता अभिमुखीकरण कार्यक्रमलाई अझै ठूलो रूपमा चलाउने योजना बैठकमा प्रस्तुत गरियो।

कार्यक्रमका प्रमुख अतिथि तथा सिरहा क्षेत्र नं. १(ख) का प्रदेश सांसद राजु कुमार गुप्ता (राजु)ले जसपा नेपाल मधेशको मात्र नभइ देशकै वैकल्पिक राजनीतिक शक्ति बन्दै गएको बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
प्रदेश सभा सदस्य ललिता विद्रो, जसपा नेपालका केन्द्रीय सदस्य सत्य नारायण यादव, जिल्ला अध्यक्ष अशोक यादव, लहान नगर अध्यक्ष रामउदगार महतोलगायत नेताहरूले संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यस्तै, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, नेताहरू परियाग लाल यादव, दिपेश यादव, नागेन्द्र यादवसहित वडा अध्यक्षहरू तथा विभिन्न तहका कार्यकर्ताहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप ऊर्जा प्रदान गर्यो।

बैठकमा सहभागी नेता–कार्यकर्ताहरूले जसपालाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनाउन सबै मिलेर काम गर्ने सामूहिक संकल्प व्यक्त गरेका छन्। बैठकले पार्टीलाई जनमुखी र मतदातामैत्री बनाउँदै सबै तहका कमिटीलाई सक्रिय रहन निर्देशन दिएको छ।